टिकटकबाट ‘भाइ’ बनेर घर छिरेका युवकद्वारा विवाहित महिला बलात्कृत


काठमाडौं-  सामाजिक सञ्जाल टिकटकमार्फत चिनजान गरी ‘दिदी–भाइ’को सम्बन्ध गाँसेर घरमा बास बस्न आएका एक युवकले विवाहित महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ स्थायी घर भई हाल बाराको सिमरामा बसोबास गर्दै आएका ३२ वर्षीय सुबास कँडेलविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार जबर्जस्ती करणीको कसुरमा अभियोग पत्र दायर गरेको हो।

अभियोग पत्रअनुसार पीडित महिला र प्रतिवादी कँडेलबीच करिब १२–१३ महिना अघि टिकटकमार्फत चिनजान भएको थियो। कँडेलले आफू वैदेशिक रोजगारीका सिलसिलामा न्युजिल्याण्डमा रहेको र त्यहाँ राम्रो आम्दानी हुने बताउँदै पीडितलाई प्रभावमा पारेका थिए।

पछि उनले आफू नेपाल फर्किएको र बाराको सिमरास्थित सनराइज बैंकको भवनमा ‘ब्रिज एजुकेसन फाउण्डेसन’ सञ्चालन गरिरहेको दाबी गरेका थिए। टिकटकमार्फत दिदी–भाइको नाता लगाएर कुराकानी गर्दै आएका कँडेल २०८२ साल मंसिर ४ गते साँझ करिब ६ बजे पीडितलाई भेट्न भन्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित पीडितको डेरामा पुगेका थिए।

पीडित महिलाले कँडेललाई आफ्नो श्रीमान्सँग ‘भाइ’को रूपमा चिनजान गराएकी थिइन्। टाढाबाट आएको र दिदी–भाइको नाता लगाएको विश्वासमा सोही रात उनलाई पीडितको घरमै बास दिइएको अभियोग पत्रमा उल्लेख छ।

भोलिपल्ट २०८२ मंसिर ५ गते बिहान पीडितका श्रीमान् काममा र छोरी विद्यालय गएपछि घरमा पीडित र प्रतिवादी मात्रै थिए। सोही दिन दिउँसो करिब १२ बजेतिर पीडित सुत्ने कोठामा प्रवेश गरी कँडेलले ढोका बन्द गरेर डर, त्रास र धम्की दिँदै जबर्जस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ।

पीडितको बयानअनुसार घटनापछि कँडेलले ‘यो कुरा कसैलाई भनिस् भने तेरो श्रीमान् मोटरसाइकलमा हिँड्दा मान्छे लगाएर मारिदिन्छु, तँलाई पनि सिध्याइदिन्छु’ भन्दै ज्यान मार्ने धम्की दिएका थिए।

घटनापछि कँडेलले सामाजिक सञ्जालमार्फत पीडितलाई अश्लील शब्द प्रयोग गरी मानसिक यातना दिने, धम्की र ब्ल्याकमेल गर्ने क्रम निरन्तर जारी राखेको अभियोग पत्रमा उल्लेख छ। पीडित डर र त्रासमा बसिरहेको अवस्थामा उनको व्यवहारमा आएको परिवर्तन देखेर श्रीमान्ले सोधपुछ गरेपछि घटना बाहिर आएको हो।

श्रीमान्को साथ र सहयोग पाएपछि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रहरी हिरासतमा रहेका प्रतिवादी कँडेलले अदालतसमक्षको बयानमा घटना स्वीकार गरे पनि त्यो सहमतिमा भएको दाबी गरेका छन्। टिकटक र भिडियो कलमार्फत पहिलेदेखि नै अन्तरंग कुराकानी हुने गरेको, आफूहरू ‘भर्चुअल’ श्रीमान्–श्रीमती जस्तै रहेको र घटनाको दिन पीडितकै आग्रहमा सिन्दुर हालेको जिकिर उनले गरेका छन्।

तर, सरकारी वकिल कार्यालयले अनुसन्धानका क्रममा प्राप्त प्रमाण, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र पीडितको बकपत्रलाई आधार मान्दै घटना जबर्जस्ती करणी नै भएको निष्कर्ष निकालेको छ।

 

 

 

प्रतिक्रिया