मन्त्री भेट्न गएका थिएँ, रास्वपा प्रवेशको सूचीमा परेछु : लक्ष्मणकिशोर चौधरी


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वपदाधिकारी तथा थरुहट/थारुवान अभियन्ताबीच सोमबार भएको समायोजन कार्यक्रममा मञ्चमै देखिएका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफू कुनै पनि दलमा प्रवेश नगरेको स्पष्ट पारेका छन् ।

सोमबार राष्ट्रियसभा गृहमा आयोजित एकता–समायोजन कार्यक्रममा चौधरी मञ्चमा उपस्थित भएपछि उनी रास्वपामा प्रवेश गरेको चर्चा चलेको थियो । तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट निर्वाचित सांसद चौधरीले आफू कुनै दलमा नजोडिएको दाबी गरेका छन् ।

आफू त्यहाँ राजनीतिक प्रवेशका लागि नभई व्यक्तिगत कामका लागि पुगेको चौधरीको भनाइ छ । ‘आफ्नो निर्वाचन क्षेत्रका सडक र पुलसम्बन्धी योजनाका विषयमा मन्त्री कुलमान घिसिङलाई पहिलेदेखि नै भेट्न खोजिरहेको थिएँ,’ उनले भने, ‘हिजो रास्वपाको कार्यक्रममा पुगेका साथीहरूले मन्त्रीज्यू पनि कार्यक्रममा आउने जानकारी दिएपछि उहाँलाई भेट्न म पनि राष्ट्रियसभा गृह पुगेको हुँ ।’

उनका अनुसार सोही क्रममा आयोजकले झुक्किएर रास्वपा प्रवेशको सूचीमा आफ्नो नाम राखेका थिए । ‘म पनि कार्यक्रमको प्रकृति नबुझेर मञ्चसम्म पुगेछु,’ उनले भने, ‘तर, म रास्वपामा प्रवेश गरेको छैन ।’

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेको विषयमा समेत आफूलाई कुनै औपचारिक जानकारी नरहेको चौधरीले बताए । ‘मिडियामा अध्यक्षज्यूले हात मिलाएको फोटो देखेको थिएँ,’ उनले भने, ‘त्यसबाहेक हामीलाई पार्टीबाट कुनै लिखित परिपत्र आएको छैन । अहिले पनि हामी नागरिक उन्मुक्ति पार्टीकै बोर्डमुनि छौँ ।’

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर–१, प्रदेशसभा (२) मा विजयी भएका हुन् । सुदूरपश्चिम प्रदेशसभामा हाल नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया