गोगंबुको गेष्ट हाउसमा पुरुषको शव भेटियो, सँगै बसेका साथी फरार


काठमाडौं – काठमाडौंको गोगंबुस्थित एक गेष्ट हाउसमा पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–२७ मित्रनगरस्थित गोदावरी सन्तोषी गेष्ट हाउसमा पुरुषको शव भेटिएको हो।

स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले अनलाइनन्यूज७ लाई जानकारी दिए।

‘शनिबार गेष्ट हाउसको कोठामा मृत अवस्थामा घर्तीको शव भेटिएको खबर आएको हो,’ एसएसपी सिंहले भने, ‘एउटै कोठामा तीन जना बसेको खुलेको छ। तर दुवैजना फरार भएकाले थप शंका उत्पन्न भएको छ।’

धब्बुराम बस्नेत र राजकुमार कुँवर योगी र मृतक घर्ती तीनजना गेष्ट हाउसको कोठामा सँगै बसेर मापसे गरेको अनुसन्धानबाट खुलेको एसएसपी सिंहले बताए। घर्तीको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

फरार धब्बुरामलाई आरुबारीबाट र राजकुमारलाई सुनवलबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै गरेको एसएसपी सिंहले बताए। ‘घटनालगत्तै दुवैजना भागेछन्। एकजना काठमाडौंबाट र अर्को एकजना काठमाडौं बाहिर जान भ्याइसकेको रहेछ,’ सिंहले भने।

गेष्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो। सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया