
पार्टी फुट्दैन, एकढिक्का नै रहन्छ: कांग्रेस महामन्त्री शर्मा
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने र पार्टी एकढिक्का रहनेमा नेता तथा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका छन्।
केन्द्रीय कार्यालय सानेपामा सम्पन्न कार्यसम्पादन समितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले भने, “विधानअनुसार कार्यक्रम गरेर जाँदा कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ। कसैले आशंका नगरे हुन्छ। अहिलेको अवस्थामा महाधिवेशन गरेर नयाँ नीति तथा नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्थ्यो। हामीले मिति तय गर्यौँ, तर मिति मात्रै तय गरेर केही गरिएन।”
महामन्त्री शर्माले नियमित महाधिवेशन नभएपछि ५४ प्रतिशत प्रतिनिधिको माग अनुसार विशेष महाधिवेशन गरेर निर्वाचनमा जानुपर्ने पक्षमा रहेको पनि स्पष्ट पारे। उनका अनुसार, संस्थापकहरू निर्वाचनअघि महाधिवेशन नगर्ने पक्षमा भए पनि महामन्त्रीद्वय शर्मा र गगन थापा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि नयाँ नेतृत्वसहित पार्टीलाई तयार पार्न विशेष महाधिवेशन आह्वान गर्न लागेका छन्।
शर्माले थपे, “संस्थागत रूपमै विशेष महाधिवेशनका बारेमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरोस् भन्ने हाम्रो चाहना हो। यो परिस्थितिमा नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने विषय हो। त्यसैले निर्धारित समयमा नियमित महाधिवेशन गर्न नसकेपछि विकल्पका रूपमा विशेष महाधिवेशन नै उपयुक्त छ।”
विशेष महाधिवेशनको मिति पुस २७–२९ मा तोकिएको छ।



कागजपत्र |
