
कोठामा कोइला बालेर सुत्दा शिशुको मृत्यु
सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुत्दा निसास्सिएर ३८ दिनको एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका अन्य तीन जना बेहोस भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्दै आएकी तारा बुढाकी ३८ दिनकी छोरी प्रतीक्षा बुढा रहेकी छन्। शिशुको कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ।
भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी करिब ३२ वर्षीया तारा बुढा, उनकी करिब १३ वर्षीया भदैनी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढा चिसोबाट जोगिन कोठाभित्र कोइला बालेर सुतेका थिए।
आज बिहान करिब ९ बजेर ४५ मिनेटसम्म पनि उनीहरू नउठेपछि घरबेटी बोलाउन जाँदा १० वर्षीय प्रकाश बुढाले ढोका खोलेका थिए। ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने प्रकाशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बेहोस भएका तारा बुढा र संगम बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। हाल अस्पतालमा ताराका श्रीमान् गोपी बुढाको उपस्थितिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा प्रहरी टोली खटिएर मुचुल्कासहित प्रारम्भिक अनुसन्धान सम्पन्न गरिएको छ। मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले चिसोबाट बच्न झ्याल–ढोका बन्द गरेर कोइला वा ब्रिकेट बालेर सुत्दा अक्सिजनको कमी भई यस्ता दुर्घटना हुने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।



कागजपत्र |
