
एन्डोरा, अष्ट्रिया र स्पेन पठाउने भन्दै ७२ लाखभन्दा बढी ठगी, पाँचजना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने उदयपुरगढी गाउँपालिका–३, उदयपुरका २६ वर्षीय विश्व ठकुरी उर्फ विश्व विक्रम सेन, काठमाडौं टोखा नगरपालिका–९ बस्ने त्रियुगा नगरपालिका–१२, उदयपुरका ४४ वर्षीय अर्जुनकुमार निरौला, काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय गोपाल भन्ने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका–७ बस्ने फिदिम नगरपालिका–१२, पाँचथरका ३८ वर्षीय पूर्णबहादुर तुम्ब्रोक तथा ललितपुर महानगरपालिका–२३ बस्ने पनौती नगरपालिका–१२, काभ्रेका ४० वर्षीय राजकुमार खड्का रहेका छन्।
प्रहरीका अनुसार विश्व ठकुरी, अर्जुनकुमार निरौला र प्रेम श्रेष्ठले एन्डोरा पठाइदिन्छु भन्दै ९ जना पीडितबाट जम्मा ५९ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी पूर्णबहादुर तुम्ब्रोकले अष्ट्रिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख रुपैयाँ र राजकुमार खड्काले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले विश्व, अर्जुन, प्रेम र पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका–९ क्षेत्रबाट तथा राजकुमार खड्कालाई काठमाडौं महानगरपालिका–७ क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका विश्व ठकुरी, अर्जुनकुमार निरौला र प्रेम श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। यस्तै, पूर्णबहादुर तुम्ब्रोक र राजकुमार खड्कालाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।



कागजपत्र |
