कोरिया पठाउन माग गर्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन जारी


काठमाडौं-  वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै युवाहरूले ललितपुरको ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालय अगाडि प्रदर्शन जारी राखेका छन्।

दुई वर्षअघि ईपीएस प्रणालीअन्तर्गत भाषा परीक्षा पास गरी रोस्टरमा रहेका युवाहरूले लामो समयसम्म पनि कोरिया पठाउने प्रक्रिया अघि नबढेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले कोरिया जान ढिलाइ हुँदा आफ्नो भविष्य अन्योलमा परेको बताएका छन्।

आन्दोलनरत युवाका अनुसार दुई महिनाअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति भएको भए पनि त्यसको कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रनु परेको हो। सहमतिपछि पनि सरकारले आवश्यक प्रक्रिया अघि नबढाएको उनीहरूको आरोप छ।

तथ्यांकअनुसार सन् २०२५ का लागि १ लाख ६३ हजार युवाले ईपीएस भाषा परीक्षामा सहभागिता जनाएका थिए। तीमध्ये १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भए पनि अधिकांशको अहिलेसम्म रोजगारदातासँग करार सम्झौता नहुँदा कोरिया जान नपाएको अवस्था रहेको छ।

प्रतिक्रिया