
कजरिया टायल्स उद्योगमा दुई मजदुर मृत फेला
परासी – नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको रहस्यमय अवस्थामा मृत्यु भएको छ। गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक नेपाली र एक भारतीय मजदुर मृत फेला परेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश राज्यको प्रतापगढ जिल्लाअन्तर्गत ६६ ग्राम पोस्ट निवासी ३० वर्षीय विनोदकुमार रहेका छन्।
स्थानीयवासी र आफन्तले उद्योगभित्र ग्यास लिक भएर उनीहरूको मृत्यु भएको आरोप लगाएका छन्। स्थानीयका अनुसार उद्योगले जाम भएको ग्यास खोल्न दुवै मजदुरलाई पठाएको र सोही क्रममा निसासिएर उनीहरूको मृत्यु भएको हो। मृतक दुवैजना उद्योगको ग्यासी फायर (अग्नि नियन्त्रण) प्लान्टमा कार्यरत मजदुर रहेको उद्योगले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठका अनुसार दुवै मजदुर उद्योगको ग्यासी फायर प्लान्टको पोकिङ फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेका थिए। उद्योगले जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको उनले बताए।
यता उद्योग पक्षले भने ग्यास लिक नभएको दाबी गरेको छ। उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले कोठाभित्र सुतेको अवस्थामा अक्सिजनको कमी भएर मृत्यु भएको हुनसक्ने बताए। “ग्यास लिक भएको छैन। हिजो न्यू इयर मनाएका होलान्। कोठामा गएर सुतेपछि अक्सिजन कम भएर मृत्यु भएको हुनसक्छ,” उनले भने।
घटनाको वास्तविकता पत्ता लगाउन दुवै मजदुरको शव प्रादेशिक अस्पताल बुटवल पठाइने तयारी गरिएको भए पनि आक्रोशित स्थानीय र आफन्तले अवरोध गरेका कारण अहिलेसम्म पठाउन नसकिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
