नेप्से परिसूचक १० अंकले बढ्यो


काठमाडौं-  साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार देखिएको छ । परिसूचक १०.८७ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको हो ।

दिनभर उतारचढावपूर्ण रहेको बजार अन्तिम समयमा सकारात्मक लय समात्दै बन्द भएको हो । आज दिनभर जम्मा ३४२ वटा कम्पनीका १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर खरिद–बिक्री भए । यससँगै कुल कारोबार रकम ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

आजको कारोबारमा १६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ८ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन देखिएन । बजारमा आज विन नेपाल लघुवित्तको मूल्यमा १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लाग्दा सिटिजन्स बैंकको डिवेञ्चरको मूल्य ९.६१ प्रतिशतले घटेको छ ।

समूहगत सूचकहरूमध्ये आज सबै सूचक सकारात्मक रहे । उत्पादनमूलक समूहमा सर्वाधिक १.६१ प्रतिशत वृद्धि हुँदा आज अन्य सबै समूहमा एक प्रतिशत भन्दा कमले बढेको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र न्यादी पावर कम्पनीको मूल्य आज १० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज ग्रीन भेञ्चर अग्रस्थानमा रह्यो । उक्त कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको कारोबार भयो । त्यसैगरी बन्दीपुर केवलकार, श्रीनगर एग्रिटेक, हिमालयन रिइन्सयोरेन्स, शिवम् सिमेन्ट पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

प्रतिक्रिया