तुलसीपुरमा बरामद रकम सुविसुको भएको पुष्टि, युवक पक्राउ


दाङ – दाङको तुलसीपुर क्षेत्रमा बरामद गरिएको ठूलो परिमाणको नगद रकम काठमाडौंस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको भएको पुष्टि भएको छ।

प्रहरी स्रोतका अनुसार काठमाडौंमा प्लम्बरको काम गर्दै आएका तुलसीपुर–६ गोलौराका करिब २५ वर्षीय दुर्गा केसीले पुस १३ गते काठमाडौंको बिशालनगरमा रहेको सुविसु कम्पनीको कार्यालयबाट नगद चोरी गरेका थिए। चोरीपछि उनी दाङ फर्किएका थिए।

सुविसु कम्पनीले काठमाडौंस्थित अपराध महाशाखामा चोरीको उजुरी दिएपछि प्रहरीले अभियुक्तको खोजी थालेको थियो। खोजतलासकै क्रममा केसी दाङस्थित आफ्नै घरमा फेला परेका हुन्।

प्रहरीका अनुसार पक्राउ परेपछि केसीले सुरुमा ६० लाख रुपैयाँ मात्रै रहेको बयान दिएका थिए। तर नगद गणना मेसिनमार्फत जाँच गर्दा कुल ६४ लाख ८१ हजार १ सय १० रुपैयाँ बरामद भएको खुलेको छ।

हाल तुलसीपुर प्रहरीले केसीलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया