
एमाले–कांग्रेस मिलेर चुनाव लड्नुपर्छ: रामबहादुर थापा
काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आउँदो प्रतिनिधिसभा चुनावमा एमाले र कांग्रेस मिलेर चुनाव लड्नुपर्ने औँल्याएका छन्।
मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष थापाले वर्तमान विषम परिस्थितिमा वामपन्थी र लोकतन्त्रवादी शक्तिले संयुक्त रणनीति बनाउन आवश्यक रहेको बताए।
उपाध्यक्ष थापाले भने, “देशमा लोकतन्त्र खतरामा परेका बेला वामपन्थीको नेतृत्व गरेर एमाले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेसले लड्नुपर्छ। चुनावमा नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादी शक्तिले ‘डिप स्टेट’वादीलाई परास्त गर्नुपर्छ।”
थापाले आगामी संसदमा वामपन्थी र लोकतन्त्रवादीको वर्चश्व स्थापना गर्ने वा पुरानो संसद पुनर्स्थापना गरेर लोकतन्त्र पुनर्स्थापना गर्ने विकल्प खुलेको उल्लेख गरे।
उनले १६५ वटै निर्वाचन क्षेत्रमा मोर्चा बनाउनुपर्ने सुझाव दिंदै भने, “आउँदो चुनावमा आधा वामपन्थी र आधा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔँ।”
उपाध्यक्ष थापाले अदालत र सडकबाट पुरानो संसद पुनर्स्थापना गर्ने अभियान २१ फागुनसम्म सशक्तरूपमा अघि बढाउन सकिने धारणा पनि राखे।



कागजपत्र |
