प्रहरीबाट राजीनामा दिएको केही दिनमै भेटियो सई खड्काको शव


काठमाडौं- भक्तपुरको थिमी नगरपालिका–९ स्थित निलबाराही जङ्गलमा प्रहरी सेवाबाट राजीनामा दिएका प्रहरी नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले प्रहरी सेवाबाट राजीनामा बुझाएका सई दशरथ खड्काको शव फेला परेको जानकारी दिएका छन्। उनका अनुसार खड्काको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो।

स्थानीयले जङ्गल क्षेत्रमा रुखमा झुण्डिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको थियो।

प्रहरी प्रभाग साँखुमा कार्यरत ४५ वर्षीय खड्काले मंसिर २६ गते प्रहरी सेवाबाट राजीनामा बुझाएको खुलेको छ। उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–१, सरस्वती खेलका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

सई खड्काको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रतिक्रिया