कुलमानले सार्वजनिक गरे सय दिनका १०१ काम


काठमाडौं-  जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यकालमा १०१ वटा प्रमुख काम सम्पन्न गरेको दाबी गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले तीनवटै मन्त्रालयमा जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै उल्लेखनीय उपलब्धि हासिल भएको बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३६, शहरी विकास मन्त्रालयअन्तर्गत ३३ र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ३१ वटा प्रमुख काम सम्पन्न भएका छन्।

उनले रुग्ण बनेका सडक, पुल र आयोजनाको ठेक्का तोड्दै कामलाई गति दिएको उल्लेख गरे। झापाको कन्काई पुलको १४ वर्षदेखि अवरुद्ध ठेक्का तोड्नु, तातोपानी नाका खोल्नु, मेलम्ची पानी आपूर्ति र मनसुनले क्षति पुर्याएको वीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउनु जस्ता कार्यहरू उनको उपलब्धिमा परेका छन्।

यसका साथै जलविद्युत आयोजनालाई स्वदेशी लगानीमा निर्माण गर्न लगानी ढाँचा तयार पार्ने प्रक्रिया अघि बढाइएको, जल तथा मौसम विज्ञान विभागमार्फत जोखिम पूर्वानुमान सूचना प्रभावकारी ढंगले सम्प्रेषण गरिएको, र राजधानीमा फोहोर विसर्जनको समस्या समाधान गरिएको जानकारी उनले दिए।

मन्त्री घिसिङले भविष्यमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “काम नगर्ने संरचना, जिम्मेवारी नबोक्ने प्रवृत्ति र जनहितविरुद्धका गतिविधिसँग सम्झौता गर्ने छैन। यी सय दिन केवल सुरुआत मात्र हुन्।”

Skip to PDF content

प्रतिक्रिया