रामेछापमा गुडिरहेको बसको ढोकाबाट खस्दा एक यात्रु घाइते


रामेछाप-  रामेछापको मन्थली नगरपालिका–२ कठजोरस्थित भित्री कच्ची सडकमा यात्रुबाहक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएका छन्।

सोमबार दिउँसो काठमाडौंबाट यात्रु लिएर रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँतर्फ जाँदै गरेको बा.प्र.०१–००५ ख ९९२९ नम्बरको पूर्व अरनिको यातायात सेवा समितिको बसबाट यात्रु चित्रबहादुर मगर (५२) खसेका हुन्।

घाइते मगरलाई तत्काल घटनास्थलबाट स्थानीयहरूले उद्धार गरी उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नहुँदा गएराती नै थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएका छन् कि घाइतेको ढाड र शरीरको भित्री भागमा चोट लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया