महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको सर्मनाक हार हुन्छ: प्रदीप पौडेल


काठमाडौं-  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसले सर्मनाक हार व्यहोर्नुपर्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आन्तरिक अधिवेशन ढिलो गर्दा त्यसको प्रतिकूल असर निर्वाचन परिणाममा पर्ने बताएका हुन्।

संसद पुनर्स्थापनाको प्रक्रियालाई प्राथमिकता दिँदै पार्टी महाधिवेशनलाई पछाडि धकेर्नु प्रत्युत्पादक हुने उनको भनाइ छ। “महाधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले सर्मनाक हार व्यहोर्नुपर्ने अवस्था आउँछ,” पौडेलले भने, “अधिवेशन गरेर चुनावमा बढी सिट जित्न सकिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन अनिवार्य हुन्छ।”

नेकपा एमालेले समयमै महाधिवेशन सम्पन्न गरिसकेको सन्दर्भ उल्लेख गर्दै पौडेलले अब कांग्रेसले अधिवेशन नगरे लाजमर्दो अवस्था सिर्जना हुने बताए। “एउटा कम्युनिष्ट पार्टीले अधिवेशन गरेर सकारात्मक सन्देश दिएको छ,” उनले भने, “त्यसैले हामीले पनि समयमै महाधिवेशन गर्नुपर्छ।”

उनले महाधिवेशनमार्फत पार्टीलाई अध्यावधिक गर्न नसके देशलाई अगाडि बढाउन सकिन्छ भन्ने विश्वास जनतामा पैदा नहुने जिकिर गरे। “आफ्नै पार्टीलाई अपडेट गर्न नसक्ने, विधानअनुसार अगाडि बढाउन नसक्ने पार्टीले देश चलाउँछ भन्ने कुरा कसरी पत्याइन्छ ?” उनले प्रश्न गरे।

महाधिवेशन नगरेको अवस्थामा नेतृत्व पदको लोभमा अड्किएको र परिवर्तन नचाहेको सन्देश जाने पौडेलको भनाइ छ।

प्रतिक्रिया