ओली–लेखकको बयान लिने तयारी


काठमाडौं-  जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

आयोगले केही सुरक्षा अधिकारी तथा निजामती कर्मचारीहरूको बाँकी बयान पूरा गरेपछि ओली र लेखकलाई औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो । आयोग स्रोतका अनुसार कम्तीमा एक साताको समय दिने गरी बयानका लागि पत्राचार गर्ने योजना छ ।

हाल आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ । त्यस्तै, हालका प्रहरी महानिरीक्षक (आईजीपी) तथा तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीको बयानको केही अंश बाँकी रहेको आयोगले जनाएको छ । यी बयान एक–दुई दिनभित्र सकिएपछि आयोगले ओली र लेखकलाई डाक्ने प्रक्रिया अघि बढाउनेछ ।

जाँचबुझ आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका बाँकी रहेका केही बयान सकेपछि तत्कालीन सरकारको नेतृत्व र शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका गृहमन्त्रीलाई डाकिने छ। शर्माले भने, “उहाँहरूलाई आयोगले औपचारिक पत्राचारमार्फत बयानका लागि बोलाउनेछ ।”

आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मी परिचालन गरेर म्याद तामेल गराउने तयारी गरेको छ । गृहमन्त्री रमेश लेखकले पूर्वसूचना पाए कुनै पनि दिन आयोगमा उपस्थित भएर आफ्नो भनाइ राख्न तयार रहेको मौखिक सन्देश आयोगका एक सदस्यमार्फत पठाइसकेको स्रोतले जनाएको छ । आयोगसम्बद्ध स्रोतका अनुसार लेखकको बयानका विषयमा कुनै खास समस्या देखिएको छैन । तर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयानबारे भने आयोगभित्र छलफल जारी छ ।

प्रतिक्रिया