
नेपालको निर्यातमा ५८.१७ प्रतिशतले वृद्धि
काठमाडौं- नेपालको निर्यात व्यापार पछिल्लो पाँच महिनामा ५८.१७ प्रतिशतले बढेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा निर्यात उल्लेख्य वृद्धि भएको देखिएको हो।
चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँभन्दा बढीको वस्तु निर्यात गरेको छ। गत आवको सोही अवधिमा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँमा सीमित थियो।
यस्तै, आयात व्यापारमा पनि सुधार आएको छ। चालु आवको मंसीरसम्म नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँको वस्तु आयात गरेको छ। गत आवको सोही अवधिमा आयात ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ मात्र थियो। यसले आयातमा १५.८३ प्रतिशत वृद्धि भएको देखाउँछ।
भन्सार विभागका अनुसार पाँच महिनामा कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ थियो।
तर, व्यापार घाटा भने १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ६८ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिको व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँमा रहेको थियो।



कागजपत्र |
