
भदौ २४ को विध्वंसमा जेनजीको संलग्नता छैन : डा. शेखर कोइराला
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २४ गते भएको विध्वंसमा जेनजी युवाहरूको संलग्नता नरहेको दाबी गरेका छन्। आइतबार विराटनगरमा आयोजित ‘नेपाली कांग्रेस र नेपालको यात्रा : हिजो, आज र भोलि—चुनौती, अवसर र सम्भावना’ विषयक युवासँगको संवाद कार्यक्रममा बोल्दै उनले भदौ २३ गतेको जेनजी आन्दोलन शान्तिपूर्ण रहेको र त्यसले युवाहरूको आवाज प्रष्ट रूपमा अभिव्यक्त गरेको बताए।
डा. कोइरालाले भदौ २४ गतेको घटनालाई विरोध वा विद्रोहभन्दा बढी विध्वंसको संज्ञा दिँदै त्यसमा जेनजी युवाहरूको हात नरहेको जिकिर गरे। साथै, उनले भदौ २३ गतेको आन्दोलनका दोषी मात्र होइन, भदौ २४ गतेको विध्वंसमा संलग्न दोषीलाई समेत निष्पक्ष रूपमा कारबाही हुनुपर्ने माग गरे।
नेपाली कांग्रेस विराटनगर महानगर समितिद्वारा आयोजित उक्त कार्यक्रममा युवा तथा जेनजीहरूको प्रश्नको उत्तर दिँदै नेता कोइरालाले शिक्षामा भइरहेको अत्यधिक राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किँदै गएको धारणा व्यक्त गरे। उनले शिक्षाबाट राजनीतिलाई अलग गर्नुपर्नेमा जोड दिए।
डा. कोइरालाका अनुसार अङ्ग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको शिक्षा प्रणालीले समाजमा दुई किसिमका नागरिक उत्पादन भइरहेको छ, जुन दीर्घकालीन रूपमा राष्ट्रका लागि घातक हुनसक्ने चेतावनी उनले दिए।



कागजपत्र |
