
लेखराज भट्टका भाइ गोकर्ण रास्वपा प्रवेश
काठमाडौं – नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले गत १४ कात्तिकमा एमाले परित्याग गरेको घोषणा गरेका थिए। त्यसपछि पार्टी गतिविधिमा निष्क्रिय रहेका उनी आइतबार औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।
गोकर्ण भट्ट नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ हुन्। यसअघि उनी माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय थिए। उनी २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए तर पराजित भएका थिए। त्यसैगरी, २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि नगर प्रमुख पदमै उम्मेदवार बनेका भट्टले चुनाव जित्न सकेनन्।
रास्वपामा प्रवेश गर्ने विषयमा भट्टले यसअघि नै सामाजिक सञ्जालमार्फत जानकारी गराइसकेका थिए।



कागजपत्र |
