
निर्वाचन सार्ने प्रयास भए देश दुर्घटनामा जान्छ : प्रचण्ड
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि बहाना बनाएर निर्वाचन सार्ने प्रयास भए देश गम्भीर दुर्घटनातर्फ जाने चेतावनी दिएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सरकारलाई लक्षित गर्दै प्रचण्डले समयमै र सहज रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे। “सरकारलाई स्पष्ट भन्न चाहन्छु—कुनै तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोस्,” उनले भने, “यदि फेरि निर्वाचनको मिति सारियो भने हामी चुप लागेर बस्ने छैनौं।”
उनले यसअघि पनि संविधान आंशिक रूपमा मिचिएको उल्लेख गर्दै देशको संवेदनशील अवस्थालाई ध्यानमा राखेर आफूहरू संयमित बनेको बताए। तर फेरि पनि निर्वाचन धकेल्ने वा मिति सार्ने प्रयास भए संविधान पुनः मिचिने र त्यसको विरोधमा नेकपा चुप नबस्ने उनको चेतावनी थियो।
प्रचण्डले पछिल्लो समय ६ महिना वा एक वर्षसम्म निर्वाचन सार्न सकिने हल्ला सुन्नमा आएको उल्लेख गर्दै त्यस्तो कदमले देशलाई पुनः संकटतर्फ धकेल्ने बताए। “अब यदि फेरि देश दुर्घटनामा पर्यो भने नेपाली कम्युनिस्ट पार्टी रमिते भएर बस्ने छैन,” उनले भने।
उनले धम्कीको भाषा प्रयोग गर्न नचाहेको स्पष्ट पार्दै शान्तिपूर्ण तरिकाले, लोकतान्त्रिक मूल्य र संविधानको सम्मान गर्दै निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए।



कागजपत्र |
