पोखरा विमानस्थलका तत्कालीन प्रमुख मुनाकर्मीविरुद्ध २.५ करोड विगोसहित भ्रष्टाचार मुद्दा


काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनाकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुनाकर्मीले आफ्नो पदीय मर्यादा विपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप आयोगले लगाएको छ।

अख्तियारले मंगलबार विशेष अदालतमा मुनाकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ विगो माग गर्दै मुद्दा दर्ता गरेको हो। यसअघि सम्बन्धित विमानस्थलको मामिलामा ५५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

मुनाकर्मीले २०५४ फागुन १ देखि २०८० मंसिर १४ सम्म आफ्नो स्रोतबाट करिब ३ करोड ७३ लाख रुपैयाँ आर्जन गरेका थिए। तर, यस अवधिमा उनको खर्च ६ करोड २४ लाख १५ हजार रुपैयाँ पुगेको देखिएपछि २ करोडभन्दा बढी रकम स्रोत पुष्टि नभएको ठहर गरिएको छ।

अख्तियारले मुनाकर्मी र उनकी श्रीमती पूर्णकेशरी गोसाईको नाममा खरिद भएका सम्पत्तिहरू समेत जफत गर्न माग गर्दै मुद्दा दायर गरेको छ।

प्रतिक्रिया