पौडेलको दबाब तर ‘देउवालाई मन छैन’


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गिराउनका निम्ति नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल कम्मर कसेर लागेका छन्।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको तीन दलको बैठक पनि पौडेलको दबाबका कारण आयोजना गरिएको थियो। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेता बैठकमा सहभागी भएपछि देउवाले सरकारको विकल्पमा प्रष्ट बहुमत देखाउनका लागि प्रस्ताव गरेका थिए।

यद्यपि तीन दलको बैठक देउवाको इच्छाका आधारमा नभएको प्रष्ट छ। बैठकअघि भएको कर्मचारी युनियनको एउटा कार्यक्रममा देउवा र पौडेलबीच मञ्चमा नै भनाभन भएपछि यसको तथ्य खुलेको हो।

देउवाले सम्बोधनका क्रममा पनि आफ्नो इच्छाले तीन दलको बैठक नबोलाएको संकेत गरेका थिए। उनले पौडेलतिर लक्षित गर्दै भनेका थिए,‘बैठक बोलाइदिएकै छु, तपाई पनि आउनुहोला, सरकारको विकल्प खोज्नुहोला। मलाई अहिले प्रधानमन्त्री बन्ने रहर छैन, प्रधानमन्त्री बन्नेलाई छाडिदिन्छु।’

देउवाले सो क्रममा चुनाव भन्दा अर्को विकल्प नरहेको पनि खुलाए। चुनावमा जाँदा नै उत्तम हुने मात्र नभई उनले भने,‘चुनावमा जानुपर्ने बाध्यता हुनसक्छ, तयारी रहनुपर्छ।’

देउवा चाँडो भन्दा चाँडो चुनावमा जाने मनसायमा रहेका छन्। उनले महाधिवेशनअघि नै चुनाव भए त्यसलाई धकेल्न सकिने मनसायमा छन्। आम चुनावको घोषणा भए संविधान संशोधन गरी महाधिवेशन धकेल्ने मनसायमा देउवा रहेका छन्।

तीन दलको बैठकमा जसपाले पनि ओलीइतरको समीकरण बनाउने विषयमा खासै चासो दिएको थिएन। नेता पौडेलले तत्कालै निर्णय गर्नुपर्ने बताए पनि छलफल गर्न बाँकी रहेको जसपाका नेताले जनाएका थिए।

बैकठपछि जसपा अध्यक्ष महन्थ ठाकुरले त प्रधानमन्त्री ओलीसँग कुराकानी भइरहेका कारण अहिले नै निर्णय लिनेभन्दा छलफल पछि निर्णय गर्ने बताए।

प्रतिक्रिया