
सिंहदरबारमा सम्झौता भाँड्न खोज्ने सुप्रिया एमालेकी पूर्व कार्यकर्ता, ओलीलाई भन्थिन् ‘बा’
काठमाडौं- सरकार र जेनजी प्रतिनिधिबीच हिजो साँझ सिंहदरबारमा भएको दश बुँदे सम्झौता विवादरहित रहन सकेन । प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिमै सम्झौता पत्र च्यातचुत पारिँदा सिंहदरबारभित्रै तनावपूर्ण वातावरण बनेको थियो ।
प्रधानमन्त्री कार्यालयको हलमा सम्झौता टुंग्याउने क्रममा केही युवाले सुरुबाटै असहमति जनाउँदै रोइकराइ मच्चाएका थिए । त्यसबेला आफूलाई जेनजीमन्त्री भन्ने गरेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हात जोडेर परिस्थितिलाई शान्त पार्नुपरेको थियो ।
तर, उपस्थित भीडमा सबैभन्दा बढी उग्र रूपमा देखिएकी एक युवतीप्रति सबैको नजर गयो । ती युवती सुप्रिया ठकुरी भएको खुलेको छ । जाजरकोट घर भएकी उनी हाल काठमाडौँमा बस्दै आएकी छिन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बेलाबेला ‘बा’ भन्दै फोटो खिचाउन पुग्ने उनी पार्टीको जाजरकोट–काठमाडौँ सम्पर्क मञ्चकी अध्यक्षसमेत थिइन् ।
एमाले कार्यकर्ता भएर पनि ‘खाँटी जेनजी’ को भूमिकामा देखिएकी सुप्रियाको भदौ २४ गतेकै उग्र गतिविधि पहिल्यै सार्वजनिक भइसकेको छ । सिंहदरबारस्थित रेडियो नेपालको गेट अगाडि उभिएर उनले भीडलाई ‘अब मन्त्रालय जलाउन जाऔँ’ भन्दै उत्तेजित पारेको भिडियो बाहिरिएको थियो ।
त्यसअघि आफूलाई सामान्य जेनजी सदस्यका रूपमा प्रस्तुत गर्दै आएका भए पनि हिजो प्रधानमन्त्री कार्यालयमै ‘सम्झौता मान्दैनौँ’ भन्दै अचानक टकराव सुरु गरेको देखेपछि एकथरी जेनजीहरूबीच शंका उब्जिएको छ । रक्षा बम, भावना राउत लगायतको समूहले सुप्रियालाई एमालेले योजनावद्ध रूपमा परिचालन गरेको आशंका व्यक्त गरेका छन् ।
सम्झौताको मस्यौदा तयार पार्ने प्रक्रियामा समेत सहभागी बनेकी सुप्रियाले त्यतिबेला कुनै आपत्ति नजनाएको, तर अन्तिम क्षणमा आएर सम्झौता अस्वीकृत गर्ने भूमिकामा उत्रिएकाले आकस्मिक ‘ड्रामा’ देखिएको उनीहरूको भनाइ छ ।
सुप्रिया ३ वर्षअघि काठमाडौंमा भएको एमाले जाजरकोट–काठमाडौँ सम्पर्क मञ्चको अधिवेशनबाट प्रदेश (ख) की अध्यक्ष जस्तो पदमा चुनिएको पृष्ठभूमि बोकेकी कार्यकर्ता हुन् । यस्तो व्यक्तित्व हिजोको विवादमा यसरी अगाडि आएपछि जेनजी आन्दोलनभित्रै ‘घुसपैठ’ को कुरा पुनः चर्चामा आएको छ ।




कागजपत्र |
