
शिवपुरीमा हराएका ३ जनाको मध्यरातमा उद्धार
काठमाडौं- शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जको पानीमुहान क्षेत्रबाट शिवपुरी हाईटतर्फ उक्लिँदै गर्दा बाटो बिराई हराएका तीन जनालाई नेपाली सेनाले मध्यरातमै सकुशल उद्धार गरेको छ।
साँझपछि सम्पर्कविहीन बनेका महिला २ र पुरुष १ गरी तीन जनाको खोजी नेपाली सेनाको चन्दननाथ गण, निकुञ्ज प्रशासन र नेपाल प्रहरीको संयुक्त टोलीले तुरुन्तै सुरू गरेको थियो। कठिन भू–भाग, रातको घनघोर अन्धकार र जोखिमपूर्ण भूगोलबीच चलाइएको खोजीपछि उद्धार टोलीले उनीहरूलाई शिवपुरी पिक क्षेत्र (इलाका)मा फेला पार्न सफल भएको हो।
उद्धारपछि तीनै जनालाई सकुशल नेपाल प्रहरीको जिम्मा लगाइएको नेपाली सेनाले जानकारी दिएको छ।
निकुञ्ज प्रशासनका अनुसार हाल पर्यटक तथा पदयात्रीले निर्धारित मार्ग र समय पालना नगरी, आवश्यक तयारीबिनै गहिरो जंगल तिर छिर्ने प्रवृत्ति बढ्दा जोखिम बढिरहेको छ।
यस घटनाले पदयात्रामा निस्कँदा मार्गबारे पर्याप्त जानकारी लिनु, गाइड प्रयोग गर्नु र सुरक्षाका सामग्रीसहित मात्रै यात्रा गर्नु अनिवार्य भइसकेको निकुञ्ज प्रशासनको भनाइ छ।



कागजपत्र |
