दुर्गा प्रसाईं र सरकारबीच के भयो छलफल ?


काठमाडौं–  मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सोमबार सिंहदरबारमै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दुर्गा माताको मूर्ति उपहार दिएका छन्। प्रसाईंले प्रधानमन्त्रीलाई “तपाईं माता दुर्गा हो, त्यही रूप धारण गरेर राष्ट्रको हितमा निर्णय गर्नुहोस्” भन्ने सुझावसमेत दिएका सहभागी स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको भेटवार्तामा प्रसाईंले आफ्ना २७ बुँदे माग औपचारिक रूपमा उठाएका छन्। भेटमा प्रसाइँतर्फबाट १९ जना सहभागी थिए।

पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले राजसंस्था पुनःस्थापना र नेपाललाई हिन्दू–राष्ट्र घोषणा गर्न जनमत संग्रह गर्नुपर्ने माग राखेको बताए। उनका अनुसार प्रधानमन्त्री कार्कीले पुस २ गतेसम्म निर्णय दिने प्रतिवद्धता जनाएकी छन्। प्रसाईंले चेतावनी दिँदै भने— “माग पूरा भएन भने चुनाव हुँदैन, जनविद्रोह हुन्छ।”

प्रसाईंले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हुनै नसक्ने दाबी पनि गरे। उनले सरकारसँग माग गरिएका २७ बुँदे एजेन्डा पूरा नभएसम्म देशमा ‘सामान्य राजनीतिक कार्यक्रम’समेत अघि बढ्न नसक्ने दाबी गरे।

प्रधानमन्त्री कार्कीले मंसिर २२ गतेका लागि प्रसाईंसँग समसामयिक राजनीतिक तथा सामाजिक विषयमा विस्तृत छलफल गर्ने समय तोकेकी थिइन्। प्रसाईंले भने आफ्नो माग मंसिर ६ देखि नै उठाइरहेको तर सरकारले गम्भीर रूपमा कदम नचालेको गुनासो गरे।

 

प्रतिक्रिया