
सोशल मिडियामा भाइरल मेयरको पत्र – दिनदिनै नयाँ हाकिम पठाए पनि फरक पर्दैन
काठमाडौं– धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको एक व्यंग्यात्मक पत्र अहिले सामाजिक सञ्जालभरि चर्चाको मुख्य विषय बनेको छ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सीएओ) एकापट्टि छिटोछिटो सरुवा हुने, अर्कोतर्फ सेवा–प्रवाहमा त्यसले प्रत्यक्ष असर पारिरहेको भन्दै मेयर गुरुङले मन्त्रालयको ‘सरुवा शैली’प्रति खुलेर आक्रोश पोखेका हुन्।
मन्त्रालयले पठाएको सरुवा सूचीको पत्रको जवाफ दिँदै मेयर गुरुङले दैनिक प्रशासनिक काम रोकिने भए पनि पाख्रिवासमा धान फल्ने, दाँही हुने, थन्किने, बालीनाली लगाउने, गाई–भैंसी ब्याउने, दूध उत्पादन, सिँचाइ, फलफूल उत्पादन तथा बिक्री–वितरण जस्ता कृषिकर्ममा कुनै असर नपर्ने भन्दै कडा व्यंग्य गरेका छन्।
पत्रमा उनले मन्त्रालयलाई उद्दृत गर्दै लेखेका छन्— “सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक–एक जना प्रमुख प्रशासकीय अधिकृत पठाए पनि फरक पर्दैन।”
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न नदिनु, छोटो समयमै बारम्बार सरुवा गर्नु जस्ता प्रवृत्तिप्रति जनप्रतिनिधिहरूले पहिले पनि गुनासो गर्दै आएका थिए। तर, पाख्रिवासका मेयरले भने यो समस्यालाई बिल्कुलै भित्री व्यंग्यसहित सार्वजनिक रूपमा उच्चारण गरेका कारण पत्र अहिले प्रशासनिक वृत्तदेखि सामाजिक सञ्जालसम्म निकै चर्चित बनेको छ।




कागजपत्र |
