नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीको थुनछेक बहस आज


काठमाडौं – प्रहरी हिरासतमा रहेका नेपाल नागरिक उड्डययन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको थुनछेक बहस आज हुँदैछ।

भक्तपुरस्थित नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध शुक्रबार थुनछेक नसकिएपछि आजका लागि तोकिएको हो। बकपत्र र थुनछेक बहसका लागि अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको विशेष अदालतमा उपस्थित गराइएको थियो।

अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलास तोकिएको थियो। तर यो इजलासका एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको प्रक्रिया अगाडि नबढेको विशेष अदालतले जनाएको छ।

अधिकारीसहितले सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको छ।

अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो।

अख्तियारले बुधबार अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

प्रतिक्रिया