ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु


काठमाडौं-  ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटमा ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार महालक्ष्मीस्थानबाट एकान्तकुनातर्फ गइरहेको ना६ख ४९१७ नम्बरको ट्रकले ठक्कर दिँदा मोरङ घर भई हाल सीतापाइला बस्दै आएकी पार्वता लुइँटेलको ज्यान गएको प्रहरीको भनाइ छ।

लुइँटेल बागमती प्रदेश ०२–०३२ प ४१७५ नम्बरको स्कुटरमा एकान्तकुनातर्फ जाँदै गरेकी थिइन्। ठक्करपछि गम्भीर घाइते भएकी करिब ३८ वर्षीय लुइँटेललाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइए पनि बचाउन सकिएको छैन।

घटनापछि ट्रक चालक धादिङका २५ वर्षीय सनम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।

प्रतिक्रिया