
भिरमा फसेकी किशोरीकाे प्रहरीद्वारा सुरक्षित उद्धार
हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–५, ढुसिनीपुलमा एक बालिका भिरबाट तल खसेर अड्किएको अवस्थामा भेटिएकी छिन्। सोमबार राति करिब १४ वर्षीया रजना स्याङ्तानलाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
रजना घरबाट छबेली बजार जाने भन्दै एक्लै निस्किएकी थिइन्। बाटोमा खहरे खोलासँग जोडिएको भिरमा सन्तुलन गुमाउँदै करिब ५० मिटर तल खसेर बिच खोल्सामा अड्किएकी उनी स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको र जोखिमपूर्ण स्थानबाट बालिकालाई सुरक्षित रूपमा उद्धार गरिएको प्रहरीले बताएको छ।
उद्धारपछि घाइते बालिकालाई प्रारम्भिक उपचारका लागि भीमफेदी स्वास्थ्य चौकी लगिएको थियो। उनलाई ढाडतर्फ भित्री चोट लागेको शंका भएपछि थप उपचारका लागि हेटौँडा अस्पताल रेफर गरिएको छ। बाहिरी चोटपटक भने नभएको चिकित्सकले बताएका छन्।
घटनास्थल बालिकाको घरदेखि करिब २०० मिटर दूरीमा रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
