प्रधानमन्त्री कार्कीविरूद्धको अवहेलना मुद्दाः लिखित जवाफ पेश गर्न आदेश


काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो।

सरकारले असोज ३० गते चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई फिर्ता बोलाएको निर्णयविरुद्ध रिट दायर गरिएको थियो। अदालतले निवेदकको माग बमोजिम १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ।

गत कात्तिक १६ गते न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ताबारे अन्तरिम आदेश जारी गर्दै कार्यान्वयन नहुन्जेलसम्म रोक लगाएको थियो। तर कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले पुनः राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी थिइन्। हाल ११ देशका राजदूतहरू परराष्ट्र मन्त्रालयमा उपस्थित छन्।

प्रधानमन्त्री कार्कीले अदालतको आदेश पालना नगरेको आरोपमा अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल र विशाल थापाले सर्वोच्चमा अन्तिम आदेशको माग गर्दै रिट दायर गरेका छन्। यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्कीलाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया