एमालेको भोलेन्टियर फोर्स गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ


काठमाडौं- नेकपा (एमाले) ले पार्टीभित्र मतभेदकाबीच आफ्नै स्वेच्छिक संरचना ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) औपचारिक रूपमा घोषणा गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार काठमाडौँको कार्की ब्यांक्वेटमा आयोजित कार्यक्रममार्फत फोर्सको स्थापना घोषणा गरिएको हो।

एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको नाम सार्वजनिक गर्दै त्यसको नेतृत्व संरचना पनि सार्वजनिक गरे। ढकालले काठमाडौँको माइतीघरमा सम्पन्न अर्को कार्यक्रममा फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड समेत घोषणा गरेका हुन्।

एनभीएफको केन्द्रीय कमान्डरमा अखिल नेपाल युवक संघका पूर्व उपाध्यक्ष तथा वाग्मती प्रदेश कमिटीका सदस्य पुष्पराज श्रेष्ठलाई तोकिएको छ। फोर्समा दुई जना सह–कमान्डर रहने जनाइएको छ।

त्यसैगरी केन्द्रीय कमान्डका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्लेलगायत रहेको पार्टीले जानकारी दिएको छ।

प्रतिक्रिया