सिमराको जेनजी प्रदर्शन स्थगित


बारा- बाराको सिमरामा जेनजी युवाले आज राजमार्ग अवरुद्ध गरी गर्न लागेको प्रदर्शन स्थगित भएको छ। कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासनपछि आजको आन्दोलन रोकिएको र अवरुद्ध सडकहरू सुचारु भएको प्रहरीले जनाएको छ।

प्रशासनसँग संवाद भएलगत्तै जेनजी युवाले आजको कार्यक्रम रोकिएको स्पष्ट पारेका छन्। उनीहरूले शुक्रबार औपचारिक वार्ताका लागि प्रशासनसँग बस्ने तयारी गरेका छन्।

आफूमाथि भएको कुटपिटका दोषीलाई कारबाही गर्नुपर्ने मागसहित जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए। त्यही क्रममा प्रहरीसँग झडप भई स्थिति तनावपूर्ण बनेको थियो। भिडन्तमा ६ प्रहरी र ४ जेनजी कार्यकर्ता घाइते भएका थिए। अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो।

बुधबार एमाले नेता महासचिव शंकर पोखरेल र महेश बस्नेत सिमरा विमानस्थल हुँदै प्रवेश गर्न लाग्दा जेनजी युवाले अवरोध गरेपछि दुवै पक्षबीच भीषण झडप भएको थियो। त्यसयता सिमरा लगातार तनावग्रस्त बनेको हो।

स्थिति नियन्त्रणमा लिन प्रशासनले आज दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया