
सिमरा विमानस्थल आसपास झडपपछि जीतपुरसिमरामा कर्फ्यू जारी
बारा- जेनजी युवाहरूको विरोध प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच सिमरा विमानस्थल आसपास झडप भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेकाे छ। बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्मका लागि जीतपुरसिमरा उपमहानगरका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएकाे हाे ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम लागू गरिएको कर्फ्यू गण्डक नहरदेखि पथलैया सडक खण्डसम्म राजमार्गका दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा लागू हुनेछ।
कर्फ्यू अवधिभर आवतजावत, भेला, जुलुस, सभा, बैठक तथा कुनै पनि प्रकारको प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ। तर एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, कूटनीतिक नियोगका सवारी तथा हवाई टिकट बोकेका यात्रुको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइनेछ।
स्थिति थप नबिग्रियोस् र सरकारी–निजी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न कर्फ्यू आवश्यक भएको प्रशासनले स्पष्ट पारेको छ।
नेकपा एमाले नेता महेश बस्नेतको आगमनको विरोधमा सिमरा विमानस्थल तनावपूर्ण बनेको छ। बस्नेत र एमाले महासचिव शंकर पोखरेल चढेको जहाज सिमरा अवतरण गर्न नदिने भन्दै जेनजी समूहका युवाहरूले विमानस्थल घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको हाे।




कागजपत्र |
