सरकार ‘सानालाई ऐन, ठुलालाई चैन’ दिने प्रवृत्तिमा उभिएको छ : सुदन गुरुङ


काठमाडौं-  ‘हामी नेपाली अभियान’ का संयोजक सुदन गुरुङले काटमार र भड्काउने किसिमका अभिव्यक्ति दिने व्यक्तिहरूले खुलेआम सरकारलाई चुनौती दिँदा समेत गृह मन्त्रालय मौन बसेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालप्रति  आक्रोश पोखेका छन्।

गुरुङले सरकार ‘सानालाई ऐन, ठुलालाई चैन’ दिने प्रवृत्तिमा उभिएको आरोप लगाउँदै शान्तिपूर्ण रूपमा विरोध गरिरहेका युवामाथि सजिलै दमन गर्ने तर भड्काउने, उक्साउने र काटमारको भाषा प्रयोग गर्ने शक्तिशाली व्यक्तिहरूलाई समातेर छानबिन गर्न गृह मन्त्री सक्षम नदेखिएको टिप्पणी गरेका छन्।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, “दुर्गा प्रसाईंभन्दा धेरै भड्काउने, काटमारका अभिव्यक्ति दिनेहरू खुलेआम सरकारलाई चुनौती दिँदै हिँडेका छन्। शान्तिपूर्ण विरोध गर्ने युवाहरूको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन्। गृहमन्त्रीसँग तिनै व्यक्तिलाई त्यसरी नै समातेर छानबिन गर्ने आँट देखिएन।”

गुरुङले गृहमन्त्री अर्याललाई प्रश्न पनि उठाएका छन्। “आफूलाई संविधानविद् भनेर चिनाउने, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठुलालाई चैन’ लेखिएको छ ? विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेकोबीच के फरक रह्यो गृहमन्त्रीज्यू ?” उनले साेधेका छन्।

उनले सरकारका शक्तिशाली मानिने केही व्यक्तिहरू खुलेआम ‘लोप्पा खुवाउँदै’ हिँडिरहेकामा पनि आक्रोश व्यक्त गरेका छन्।
“त्यो लोप्पा स्वीकार्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको उचित हुन्छ, गृहमन्त्रीज्यू ?” उनले प्रश्न उठाएका छन्।

गुरुङले न्याय खोजिरहेका मृतकका परिवार, घाइतेहरू र सबै नागरिकलाई समान न्याय नदिएसम्म मुलुकमा चुनाव सम्भव नहुने दाबी दोहोर्‍याएका छन्।

प्रतिक्रिया