साउदी अरबमा बस दुर्घटना: ४२ भारतीय तीर्थयात्रीको मृत्यु


काठमाडौं- मक्काबाट मदिना जाँदै गरेको एउटा तीर्थयात्री बस दुर्घटना हुँदा ४२ जना भारतीय नागरिकको ज्यान गएको छ। सोमबार साउदी अरबमा हैदराबादका यात्रुहरूलाई लिएर तीर्थयात्राका लागि मक्काबाट मदिनातर्फ अघि बढिरहेको बस अचानक दुर्घटनामा परेको हो। मृत्यु हुनेमध्ये २० महिला र ११ बालबालिका सहित सबै भारतीय रहेको प्रारम्भिक रिपोर्टहरूले उल्लेख गरेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस एक डिजेल ट्याङ्करसँग ठोक्किँदा ठूलो आगलागी भयो। धेरैजसो यात्रु सुतिरहेको समयमा दुर्घटना भएकाले उद्धार कार्यमा चुनौती थपियो र मानवीय क्षति पनि बढ्यो। आगो लागेपछि बस पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १:३० बजे भएको थियो। हैदराबादबाट आएको अधिकांश यात्रु तीर्थयात्राका सन्दर्भमा मक्काबाट मदिनातर्फ जाँदै थिए।

दुर्घटनापछि तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै पीडितहरूको पहिचान, आवश्यक उद्धार तथा कानुनी–प्रशासनिक प्रक्रिया सहज बनाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया