
सुर्खेतमा शिक्षक सरुवाविरुद्धको प्रदर्शनमा अमानवीय दमन, प्रहरी निरीक्षकमाथि छानबिन
सुर्खेत- वीरेन्द्रनगर नगरपालिकामा शिक्षक र कर्मचारी सरुवाविरुद्ध शान्तिपूर्ण रूपमा विरोध गर्न पुगेका अभिभावक, शिक्षक, र विद्यालय व्यवस्थापन समितिमाथि प्रहरीले गरेको बल प्रयोग र दमनबारे छानबिन सुरु भएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी केदारप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी बुधबारदेखि काम सुरु गरिएको हो ।
गत साताको विरोध प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजनकुमार भट्टराईले प्रदर्शनकारीलाई नियन्त्रणका नाममा कुटपिट गरी हतकडी लगाएर कार्यालय ल्याएको आरोप छ । सामान्य विरोध र तालाबन्दी कार्यक्रममा समेत अमानवीय व्यवहार गरिएको भन्दै प्रहरी निरीक्षक भट्टराईविरुद्ध उजुरी दर्ता भएपछि गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गर्न निर्देशन दिएको हो ।
एसएसपी खनालका अनुसार समितिले घटनाबारे प्रहरी निरीक्षक भट्टराईको बयान लिने र प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाउनेछ ।
पीडित बखत शाहीका अनुसार, शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी हुँदाहुँदै आफूलाई हतकडी लगाई पटक–पटक गोप्य अंगमा प्रहार गरिएको थियो । शाहीले छानबिन समितिबाट सत्यतथ्य बाहिर आउने र दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरे ।
शिक्षक कर्मचारी सरुवामा वीरेन्द्रनगर नगरपालिकाले आफ्ना निकट राजनीतिक आस्थाका व्यक्तिलाई मात्र एकलौटी रूपमा सरुवा गरेको भन्दै अभिभावक, शिक्षक र स्थानीयले विरोध गर्दै आएका छन् ।



कागजपत्र |
