
सिन्धुलीमा २ मोटरसाइकल र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते
सिन्धुली – सिन्धुलीको दुधौलीमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नाप्र१–०२–००२ ख ४११ ट्रक र विपरीत दिशाबाट आएका नाप्र२–०१–००१ प २१४२ र मप्र०२–००६ प ५८४१ को दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय डकाहाको प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन् ।
दुर्घटनामा दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र सोही क्षेत्रका २५ वर्षीय फुलबाबु धामीको दुधौली नगर अस्पताल सिर्थौलीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक खड्काको अनुसार दुधौली–३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउका २७ वर्षीय बुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी रहेका छन् । तीमध्ये विप्लव, बुद्धि र कुशेको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थल नजिकै आगलागी समेत भएको प्रहरीले जनाएको छ । मप्र०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा लागेको आगोका कारण सो सवारी पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
दुर्घटनापछि ट्रक र चालक प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



कागजपत्र |
