
विशेष महाधिवेशन नामक जंगलमा नपसौं : रमेश लेखक
काठमाडौं- निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जेनजी आन्दोलन योजनाबद्ध रूपमा ‘हाइज्याक’ भएको दाबी गरेका छन् । कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा उनले प्रदर्शनको नाममा घुसपैठ गरी देशलाई ठूलो क्षति पुर्याइएको उल्लेख गरे ।
लेखकका अनुसार जेनजी आन्दोलन शान्तिपूर्ण माग र नयाँ आकांक्षासहित सुरु भए पनि त्यसमा संगठित, योजनाबद्ध र प्रायोजित घुसपैठ भयो । उनले माइतीघरबाट शान्तिपूर्ण प्रदर्शन गर्ने अनुमति लिएका युवाहरूको आन्दोलन बिजुलीबजार नपुग्दै अरू समूहले कब्जा गरेको र त्यसपछि संसद् भवनमा तोडफोडसम्म पुगेको बताए । “भदौ २३ गते संसद् भवनमा तोडफोड र भदौ २४ गते पूर्णरूपमा कब्जा यही घुसपैठकै परिणाम थियो,” उनले भने ।
जेनजी आन्दोलनका विद्यार्थीहरूलाई बीचमै रोकेर घुसपैठीयहरूले दुर्घटना गराएको भन्दै लेखकले घटनाको गहिरो अध्ययन गर्नुपर्ने सुझाव दिए । उनले युवाहरूका यथोचित माग सम्बोधन गर्न राज्य तयार हुनुपर्नेमा जोड दिए ।
त्यसै बैठकमा लेखकले कांग्रेसभित्रको ‘विशेष महाधिवेशन’ विवादमा पनि चेतावनी दिए । उनले विशेष महाधिवेशन गर्न खोज्नु भनेको “जंगलमा पस्नु हो जहाँबाट बाहिर निस्क्ने बाटो छैन” भन्दै यस्तो कदमले पार्टी विभाजनको खतरा निम्त्याउने बताए ।
“विशेष महाधिवेशन माग्ने साथीहरूको भावना समेटौं, तर नियमित महाधिवेशनतर्फ जाऔं,” लेखकले भने, “क्रियाशील सदस्यता टुंग्याएर पुसभित्र नै नियमित महाधिवेशन गर्न सकिन्छ।”
उनका अनुसार विशेष महाधिवेशन प्रक्रियागत रूपमा अन्योलपूर्ण भएकाले त्यो बाटो रोज्नु पार्टीका लागि घातक हुन सक्छ ।



कागजपत्र |
