
निजी विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीको विवरण माग
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी विद्यालयहरूबाट छात्रवृत्ति पाउने विद्यार्थी तथा तिनका अभिभावकको विस्तृत विवरण माग गरेको छ।
मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई पत्राचार गर्दै यो विवरण संकलन गरी पेस गर्न निर्देशन दिएको हो। शिक्षा ऐन २०२८, छात्रवृत्ति सम्बन्धी ऐन २०२१ तथा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ अनुसार निजी विद्यालयहरूले भर्ना भएका विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्छ। यद्यपि व्यवहारमा उक्त प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा गुनासो आइरहेका छन्।
मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८० देखि २०८२ सम्म निजी विद्यालयहरूले छात्रवृत्ति उपलब्ध गराएका विद्यार्थीहरूको विवरण यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिइएको छ। कानुनमा व्यवस्था भए पनि कतिपय विद्यालयले छात्रवृत्ति नदिएको, लक्षित वर्गका विद्यार्थीलाई भन्दा पहुँचका आधारमा छात्रवृत्ति वितरण गरेको गुनासो आएको मन्त्रालयले जनाएको छ। विपन्न, अपांगता भएका, महिला, दलित/जनजाति तथा जेहेनदार कोटाबाट विद्यार्थी छनोट गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ।
मन्त्रालयले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको नाम, अभिभावक, प्राप्त कोटा, जिल्ला/पालिका, विद्यालयको नाम–ठेगाना तथा विद्यार्थी अध्ययनरत कक्षासम्मको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।




कागजपत्र |
