आईजीपी खापुङको कडा चेतावनी- ‘विध्वंस रोक्न बल प्रयोग गर्न नपाउने हो भने प्रहरी संरचना नै किन चाहिन्छ?’


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले मुलुकमा राजनीतिक आन्दोलनको नाममा भइरहेको आगजनी, तोडफोड र लुटपाटलाई आतंकवादको अभ्यास भन्दै कडा चेतावनी दिएका छन्।

खापुङका अनुसार, आन्दोलनका नाममा नागरिकका निजी सम्पत्तिमाथि प्रहार हुनु भनेको ‘राजनीतिक आन्दोलन होइन, आतंकवादी सोचको बीउ’ हो। उनी भन्छन्, ‘जब तपाईँको घर सुरक्षित छैन, मेरो घर सुरक्षित छैन, त्यो क्षणदेखि नै आतंकवाद सुरु हुन्छ ।’

उनले सामाजिक सञ्जालमार्फत मानिसको दिमागमा ‘विध्वंसको बारुद’ भर्ने प्रवृत्ति बढ्दै गएको भन्दै देश ठूलो दुर्घटनातर्फ उन्मुख भएको चेतावनी दिएका समेत छन्।

आईजीपी खापुङले भदौ २३ र २४ गतेका घटनापछि प्रहरीमाथि नै प्रश्न उठाइएका विषयमा कडा असन्तुष्टि जनाए। उनले भने, ‘कानून कार्यान्वयन गर्न भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा ठिक होइन। यदि विध्वंस रोक्न बल प्रयोग गर्नै नपाइने हो भने प्रहरी संरचना नै नराखे हुन्छ।’

उनका अनुसार संसद भवन र सिंहदरबारजस्ता ‘मुख्य सरकारी संरचना’ जोगाउन खटिएका विशेष फोर्सलाई गोली चलाउने अधिकार नै कानूनले दिएको हो। त्यसैले प्रहरीले आफ्नो दायित्व पुरा गर्दा उल्टै छानबिनमा तानिनु राज्यको नीति–अस्पष्टताको परिणाम हो।

खापुङले भदौ २३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबाट गोली चलाउने आदेश नभएको स्पष्ट पारे।

उनका अनुसार, त्यतिबेला सरकारले नै ‘न्यूनतम बल प्रयोग गर्नुपर्छ’ भन्ने आदेश दिएको जनाउँदै २ हजार गोली चले पनि न्यूनतम मानवीय क्षति भएको दाबी गरेका छन् । उनले, ‘जब संसद भवनमै आगजनी हुँदैछ, हतियार खोसिँदैछ, प्रहरी कुटिँदैछ—त्यो बेला पनि प्रहरीले बल प्रयोग नगर्ने हो भने, के संगठन केवल दर्शक भएर बस्ने ?’ भन्दै प्रश्न गरे ।

आईजीपी खापुङले समाजमा बढ्दै गएको ‘उल्टो न्याय प्रवृत्ति’—अर्थात् अपराधीलाई बचाउने र प्रहरीमाथि प्रश्न उठाउने संस्कृतिप्रति पनि तीखो प्रहार गरे।

उनले भने, ‘निहत्था प्रहरीलाई कुटेर, घिसारेर, घोचेर मार्ने आन्दोलनकारीलाई नायक बनाउने र प्रहरीलाई अपराधी ठहराउने समाज कस्तो सुरक्षा चाहन्छ ?’

उनले प्रहरी संगठन सधैं राज्य र जनताको सुरक्षाका लागि उभिएको बताउँदै भने— ‘हिजो पनि, आज पनि प्रहरी देश र संविधानको पक्षमा उभिएको छ। तर हिजो पानी नपिई, आज भोकभोकै देशका लागि लड्ने सिपाहीले बयानका लागि धाउनुपर्ने अवस्था आयो भने, त्यसको आवाज बोल्ने को ?’

आईजीपी खापुङले प्रहरीलाई बलविहीन बनाएर देश सुरक्षित नरहने जनाउँदै राजनीतिक आन्दोलनको नाममा विध्वंस, आगजनी र आतंक फैलाउने प्रवृत्तिलाई रोक्न राज्यले प्रहरीको भूमिकामा स्पष्ट नीति ल्याउनु पर्ने जनाएका छन् । उनले संविधानको रक्षा गर्ने हात बाँधेर राष्ट्र सुरक्षित बनाउन नसकिने जिकिर गर्दै समयमै सचेत हुनुपर्ने जनाए ।

प्रतिक्रिया