
विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित बनाउने खतरा छ : कांग्रेस नेता काफ्ले
काठमाडाैं – कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेशसभा सांसद कुन्दन काफ्ले सधैं विद्यार्थी राजनीतिबाट उठेका स्पष्ट विचार राख्ने नेता मानिन्छन्। हालैको पार्टी संकट, विशेष महाधिवेशन र पार्टी सुधारबारे उनले आफ्नो धारणा खुलस्त रूपमा राखेका छन्।
काफ्ले भन्छन्, “गंगा सधैं सुल्टै बगिरहेको छ। कतिपय साथीहरूले मलाई महामन्त्रीहरूसँगको राजनीतिक पङ्गा लिए भनेर ट्रोल पनि गरिरहेका छन्। तर मेरो दृष्टिमा, पार्टीमा अहिले देखिएको मतभेदलाई बुझ्नुपर्छ। प्रश्न उठाउन सजिलो छ, जवाफ दिन कठिन। जवाफ त हामी सबै मिलेर तयार पार्नुपर्छ।”
उनको विचारमा, अहिलेको पार्टी नेतृत्व र महामन्त्रीहरू पनि जवाफदेही हुनुपर्छ। “अघिल्लो महाधिवेशनले उहाँहरूलाई महामन्त्री चयन गरेको हो। त्यसपछि उहाँहरूले पार्टीको नीतिगत सुधार, संगठन सुधार र जीवन्त कार्यक्रममा कति योगदान गर्नुभयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। तर प्रश्न मात्रै उठाएर भाग्ने होइन,” उनले भने।
काफ्लेले पार्टी सुधारबारे स्पष्ट उदाहरण दिएका छन्। “महामन्त्रीहरूले पार्टी रिफर्मको कुरा गर्दै आएका छन्। तर त्यो केवल शब्दमा होइन, व्यवहार र कार्यमा देखिनुपर्छ। संगठन, नीति र कार्यक्रमले दल बलियो बनाउँछ। केवल फेसबुकमा रिफर्मको कुरा गरेर पार्टी सुधार हुँदैन। हामीले कार्यकर्तालाई जीवन्त बनाउँदै पार्टी बलियो बनाउने काम गर्नुपर्छ।”
उनले पार्टीको व्यवहार र रणनीतिक सन्दर्भमा पनि उदाहरण दिएका छन्। “एमालेसँग सरकार नबनाउने कुरा गर्नुहुन्छ, तर सरकार सञ्चालनमा सहभागी हुनुहुन्छ। केही भातृ संगठन र विभागमा भागवण्डा गर्नुहुन्छ, तर मात्र पानीमाथि कसम खाएर प्रश्न गर्नुहुन्छ। यस्तो अवस्थामा पार्टीको वास्तविक शक्ति र कार्यक्षमता देखिँदैन।”
काफ्लेले नयाँ पुस्ताको भावना पनि स्मरण गराए। “जनजी पुस्ताको आन्दोलनले देशभर अभिव्यक्ति स्वतन्त्रता र भ्रष्टाचार विरुद्ध आवाज उठायो। काँग्रेसले त्यसलाई बुझ्यो र साथ दियो। पार्टीले आफ्नै नेताहरूलाई भ्रष्टाचारको मुद्दामा जिम्मेवार बनाएको छ। नयाँ पुस्तालाई किनारामा पार्ने कुरा आउँदैन” उनले भने।
महामन्त्रीहरूलाई उनले सुझाव दिदै भने, “विशेष महाधिवेशनको नाममा पार्टीलाई जटिल मोडमा नल्याउनुहाेस्। रेगुलर महाधिवेशन गर्नुपर्छ। तल्लो तहदेखि नयाँ पुस्ता समेट्नुपर्छ। स्वस्थ बहस गर्नुहोस्, समाधान निकाल्नुहोस्, पार्टी बलियो बनाउनुहोस्। यही अहिलेको आवश्यकता हो।”



कागजपत्र |
