पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला


गोरखा-  गोरखाको चुमनुब्री–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन नागरिकको शव पाँच दिनपछि फेला परेको छ। मंगलबार बिहान पाङबारी हिमालको पहिलो शिविर (क्याम्प–१) मा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार उनीहरू हिउँमा पुरिएको अवस्थामा भेटिएका थिए। शव हेलीमार्फत सामागाउँ ल्याई राखिएको उनले जानकारी दिए।

गत बुधबारदेखि उनीहरू तीन इटालियन र एक नेपाली सहयोगीसहित पाङबारी हिमालबाट फर्कने क्रममा हराएका थिए। हिमाल आरोहण गर्न नसकी फर्किने क्रममा परेको बाक्लो हिमपातका कारण बाटो अवरुद्ध भई उनीहरू अलपत्र परेका थिए।

७००५ मिटर अग्लो पाङबारी हिमालको आधार शिविरमा ६५ वर्षीय भेल्टर पेरलिनो आइतबार उद्धार भएका थिए। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको थियो।

बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया