
अदालतमा जागिर लगाइदिने लोभ देखाएर लाखौँ ठगी, आमा–छोरी पक्राउ
मोरङ- जिल्ला अदालत मोरङमा जागिर लगाइदिने लोभ देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा आमा–छोरी पक्राउ परेका छन्। प्रहरीले सिराहाको लहान स्थायी घर भई विराटनगर–५ मा बस्ने ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमल कुमारी साहलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ठगीका मुख्य योजनाकार कोमलका श्रीमान् सञ्जय यादव हुन्, जो हाल फरार छन्। अदालतमा कामको अनुभव रहेकाले यादवले नक्कली लेटरहेड, छाप र परिचयपत्र बनाएर मोरङ जिल्ला अदालतमा विभिन्न पदका लागि भर्ना खुलेको झुटो सूचना तयार पारेका थिए। कोमलले आफूलाई अदालतकी कर्मचारीका रूपमा प्रस्तुत गर्दै कार्यालय सहयोगी, खरिदार र नायब सुब्बाजस्ता पदमा आवेदन खुलाएको भन्दै पदअनुसार शुल्क असुल्थिन्। ती रकम आफ्नी आमा पुनमको इ–सेवा खातामा जम्मा गर्न लगाइन्थ्यो।
तर पीडितहरू सीधै अदालत पुगे। त्यहाँ कुनै भर्ना प्रक्रिया नभएको थाहा पाएपछि उनीहरूले सामूहिक रूपमा प्रहरीमा उजुरी दिए। उजुरीपछि मोरङ प्रहरीले अपरेसन चलाउँदै आमा–छोरीलाई पक्राउ गरेको हो।
प्रहरीले फरार सञ्जय यादवको खोजी तीव्र बनाएको र ठगीमा अन्य संलग्नता पनि हुनसक्ने जनाएको छ।



कागजपत्र |
