नेपाली कामदारलाई कोरिया रोजगारी सजिलो बनाउन छुट्टै भिसा सेन्टर स्थापना हुँदै


काठमाडौं-  कोरियाका राजदूत पार्क ते यङले अर्थमन्त्री रामेश्वर खनालसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा राजदूत पार्कले नेपाली कामदारलाई कोरिया रोजगारीका लागि छुट्टै भिसा सेन्टर स्थापना गर्न लागिएको जानकारी गराएका छन्।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीचको दुईपक्षीय कूटनीतिक सम्बन्ध र कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै, उनले कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै आगामी दिनमा थप समन्वय र सहकार्यको अपेक्षा व्यक्त गरे। उनले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने र नेपाली उत्पादन प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने पनि बताए।

त्यसैगरी, ईपीएस प्रणालीअन्तर्गत कोरिया गएर फर्किएका नेपाली नागरिकहरूको उद्यमशिलता प्रवर्द्धनका लागि कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ र आवश्यक सहजीकरण गर्नको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिएको छ।

प्रतिक्रिया