ट्राफिक प्रभाग भत्काउन पुगेको नगर प्रहरी सिडिओको आग्रहपछि फर्कियो


काठमाडौं-  थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको टोली प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पत्राचारपछि फर्किएको छ। आइतबार बिहान महानगर प्रहरीको टोली अनधिकृत संरचना भएको भन्दै सो भवन भत्काउन पुगेको थियो।

काठमाडौं महानगरपालिकाका डीएसपी पूर्णचन्द्र भट्टका अनुसार सम्पदा क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान अन्तर्गत टोली पुगेको हो। तर काठमाडौंका सिडिओ ईश्वरराज पौडेलले प्रहरी प्रभाग स्थानान्तरण गर्न समय लाग्ने भएकाले तत्काल नभत्काउन आग्रह गर्दै पत्राचार गरेपछि महानगरको टोली पछि हटेको हो।

‘सिडिओबाट स्थानान्तरण गर्न समय लाग्ने भन्दै नभत्काउन आग्रह भएको हो, त्यसैले भवन भत्काइएको छैन,’ डीएसपी भट्टले भने।

तर, ट्राफिक प्रहरी प्रभागको छेउमा रहेका अन्य संरचना भने महानगरले भत्काएको छ।

प्रतिक्रिया