आज रातिदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान


काठमाडौं-  दिनभरि मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार, पछिल्लो २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको छ। अधिकारीले भने, “४० मिलिमिटर वर्षा मध्यम वर्षा मानिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भनिन्छ। आज रातिदेखि भने भारी वर्षा हुने सम्भावना छ।”

अधिकारीका अनुसार दिनभरि बागमती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा फाटफुट पानी परेको छ भने गण्डकी र बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहित वर्षा भएको छ।

मौसम विज्ञान विभागले बुधबारदेखि सुरु भएको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने जनाएका छन्। विभागले जनतालाई सतर्क रहन र सुरक्षित रहन आह्वान गरेको छ।

विशेषगरी पदयात्रा गर्नेहरू मौसम जानकारी लिएर मात्र हिँड्न र धान काट्ने समय रहेकाले बाँकी किसानहरू भारी वर्षा हुने सम्भावना रहेकोले मौसम हेरेर मात्र धान काट्न सुझाव दिइएको छ।

प्रतिक्रिया