
फोहोर संकट समाधानका लागि महानगर र सहरी मन्त्रालयसँग आज वार्ता
काठमाडौं- पुराना सहमति कार्यान्वयन नगरेको भन्दै धुनिबेँसीका स्थानीयले फोहोरका गाडी रोक्दै सुरु गरेको आन्दोलनपछि धादिङ, नुवाकोट र काठमाडौंका अधिकारीहरूको संयुक्त टोली आज काठमाडौं आउँदैछ।
काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग वार्ता गर्न धादिङका सहायक प्रमुख जिल्ला अधिकारी, धुनिबेँसी नगरपालिकाका मेयर, नुवाकोटको ककनी गाउँपालिकाका मेयर, प्रहरी अधिकारी तथा स्थानीय प्रतिनिधिहरूको टोली काठमाडौं आउने तयारीमा छ।
धादिङको धुनिबेँसी नगरपालिकामा उपत्यकाबाट फोहोर बोकेर पुगेका गाडीलाई स्थानीयले बुधबार देखि ल्यान्डफिल साइटसम्म जान दिएका छैनन्। स्थानीयले पुराना सहमति पालना गर्नुपर्ने मागसहित आन्दोलन जारी राखेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार समस्या समाधानका लागि सम्बन्धित निकायबीच आज काठमाडौंमा वार्ता हुने सम्भावना छ।



कागजपत्र |
