
शिक्षिका खड्काको सुसाइड नोट– अर्काको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जीउन सक्दिनँ
डोटी- डोटीमा स्थायी शिक्षिका जानकी खड्काले विवाहका लागि दवाब दिने विद्यालय निरीक्षकको मानसिक दबाब र धम्कीका कारण आत्महत्या गरेकाे खुलेकाे छ। २७ वर्षीया खड्का बाजुराको भानुदय नमूना माध्यमिक विद्यालयमा गणित विषयकी स्थायी शिक्षक थिइन्।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित विद्यालय निरीक्षक गणेश रावललाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानले खड्का र रावलबीच सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेम सम्बन्ध रहेकाले विवाहका लागि दबाब दिइएको पुष्टि गरेको छ।
जानकीले आत्महत्या अघि आफ्नो कोठामा मोबाइलको कभर पछाडि सुसाइड नोट लेखेकी थिइन्। नोटमा उनले लेखेकी छन्, “अहिलेसम्म ड्याडी मम्मीको इज्जत सम्झेर बसेकी म आज जिन्दगीले अनौठो मोडमा ल्याइदियो। गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो, न मैले देखेकी छु, न भेटेकी छु। सबै उसका नाटक हुन् मलाई फसाउने।”
साथै उनले परिवारलाई सन्देश दिँदै लेखेकी छन्, “मेरो आयु यति रहेछ। बाबाआमाको इज्जत गुमाएर, तिमीहरुलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जीउन सक्दिन।”
खड्काका भाइ प्रदीप खड्काका अनुसार परिवारको मुख्य आधार दिदी नै थिइन्। उनले भने, “हामी मध्यम वर्गीय परिवार हौं। बुबा रक्तचाप र आमा माइग्रेनका बिरामी हुनुहुन्छ। दोषीले सजाय पाउनु दिदीको आत्मालाई न्याय हुनेछ।”
प्रहरीका अनुसार रावल पहिले विवाह भइसकेका र दुई सन्तानका पिता हुन्। घटनापछि डोटी प्रहरीले रावललाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ।





कागजपत्र |
