दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन सुरू गर्ने


काठमाडौं-  राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि राष्ट्रव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।  ७ दल र माओवादी केन्द्रबीच भएको १२ बुँदे सहमतिको दिनबाटै उनीहरूको व्यवस्था परिवर्तनको आन्दोलन सुरु हुने उनले बताए।

बुधवार राष्ट्रिय मानव अधिकार आयोगसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले  उनीहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकैपटक सञ्चालन हुने बताएका छन्। उनले भने, “सिंहदरबारमा आगजनी गर्ने वा घर जलाउने हाम्रो उद्देश्य छैन। दिल्लीको १२ बुँदे सम्झौताका कारण राजसंस्था गए, हिन्दू अधिराज्य गए, अब हामी त्यसको पुनर्स्थापना गर्न लागेका छौं।”

प्रसाईंले आफ्ना समर्थकलाई पसल–व्यवसाय बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान गरे। उनले भने, “देश शून्य अवस्थामा छ। आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा छ।” आन्दोलन बौद्ध, किरातसहितको सनातन हिन्दू राष्ट्र स्थापनाका लागि हुने उनको भनाइ छ।

दुर्गा प्रसाईंले यसअघि पनि राजतन्त्रको पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणा र लघुवित्त/सहकारी पीडितहरूको ऋण माफी लगायत विभिन्न माग राख्दै प्रदर्शनहरू गर्दै आएका छन्।

प्रतिक्रिया