
भालुको पित्तसहित कालिकोटका दुई जना पक्राउ
काठमाडाैं- संरक्षित वन्यजन्तु भालुको पित्तजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)का टोलीले सोमबार काठमाडौंबाट मुगुका दुई जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र सोही ठाउँमा २८ वर्षीय कृष्णबहादुर शाही छन्। उनीहरूबाट भालुको पित्तजस्तो देखिने दुई ओटा आखेटोपहार बरामद भएको ब्युरोले जनाएको छ। जसको तौल ५६८ ग्राम रहेको पाइएको छ।
ब्युरोका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार ‘अवैध रूपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिदबिक्री गर्न हिँडेको’ भन्ने सूचनाका आधारमा ब्युरोको टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारबाट दुवै जनालाई पक्राउ गरेको एसएसपी श्रेष्ठले जानकारी दिए। दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको उनले बताए।



कागजपत्र |
